झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको रिहाको माग गर्दै पार्टीका नेता कार्यकर्ताहरुले देशव्यापी प्रदर्शन गरेका छन् । यसक्रममा झापाको बिर्तामोड र दमकमा विरोध र्‍याली र मशाल जुलुश निकालेका छन् । आज दिउँसो १ः१० बजे बिर्तामोड-४ स्थित एमालेको जिल्ला पार्टी कार्यालयबाट एमाले जिल्ला कमिटी झापाको आयोजनामा विरोध र्‍याली निकालिएको थियो ।

पार्टीका झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको नेतृत्वमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री देबेन्द्र दाहाल, केन्द्रीय सदस्य दिपक कार्की, झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, पार्टीका कार्यकर्ताहरुलगायत करिब १५० जनाको उपस्थितिमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेको विरोधमा र्‍याली निकालिएको हो । “कार्की आयोगको प्रतिवेदन मान्दैनौ, बिदेशी दलालहरु होसियार, राज्य आतंक बन्द गर, बिदेशी कठपुतली सरकार मुर्दावाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, प्रतिशोधको राजनीति बन्द गर, विधिको शासन कायम गर, पार्टी अध्यक्षलाई निशर्त रिहाइ गर, जेन–जी आन्दोलनको क्रममा मारिएकालाई न्याय दे” जस्ता नारा लगाउँदै निकालिएको बिरोध र्‍याली जिल्ला पार्टी कार्यालय, भद्रपुर रोड, अधुवा खोलाको पुल, इलाम स्टेण्ड हुँदै मुक्ति चोकमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेकपा एमाले झापा जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले अहिलेको सरकारलाई भारतले अतिक्रमण गरेका जग्गा फिर्ता ल्याउन र राष्ट्रिय हितको काम गर्न आग्रह गर्दै प्रधानमन्त्री बालेनले दुई तिहाइको दम्भ देखाए जनताले सडकमा ल्याएर घिसार्न सक्ने चेतावनी दिए । उनले ओलीलाई बिनासर्त रिहा नगरे निरन्तर रुपमा सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

त्यस्तै आज साँझ ६ः३० बजेदेखि एमालेको बिर्तामोड नगर पार्टी कार्यालयबाट मशाल जुलुश निकालिएको छ । नेकपा एमाले जिल्ला कमिटी झापाको आयोजनामा पार्टीका झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको नेतृत्वमा कोशी प्रदेश सभा सदस्य एकराज कार्की, जिल्ला कमिटी उपसचिव अनिता कन्दङ्वा, राष्ट्रिय युवा संघका झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदम्बे, पार्टीका कार्यकर्ताहरु लगायत करिब २०० जनाको उपस्थितिमा विभिन्न नाराहरु लगाउँदै मशाल जुलुस निकालिएको हो । मुक्ति चोकमा आइपुग्दा प्रहरीले मशालहरु नियन्त्रणमा लिएपश्चात् नाराबाजी गर्दै कोणसभामा परिणत भएको थियो ।

त्यस्तै साँझ ६ः १० बजेदेखि दमक – ८ स्थित मानव डेन्टल केयर सेन्टर अगाडिबाट नेकपा एमाले झापा क्षेत्र नं. ५ क्षेत्रीय कमिटीको आयोजनामा पार्टीका झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीको नेतृत्वमा मशाल जुलुश निकालिएको छ । जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, जिल्ला सचिव तुलसी कार्की, पार्टीका अन्य कार्यकर्तालगायत करिब २५० जनाको उपस्थितिमा विभिन्न नारा लगाउँदै निकालिएको मशाल जुलुश आकाशे पुल हुँदै दमक –६ स्थित गणतन्त्र चोकमा आईपुग्दा प्रहरीले मशालहरु नियन्त्रणमा लिएको थियो ।