चारआली  । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा आजबाट सुरु भएको धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ प्रतियोगिताको पहिलो खेलमा आयोजक विजयी भएको छ । आयोजक धाइजन–चारआली फुटबल क्लब र आदर्श युवा क्लबबीच भएको प्रतियोगितामा ४ )० गोलले हराउँदै आयोजक विजयी भएको हो । पहिलो खेलमा नयन राईले खेलको ११ औं मिनेटमा गोल गर्दै खाता खोलेकी थिइन् । सरस्वती राईले खेल हाफअघि एक गोल र हाफपछी एक गोल गर्दै टीमलाई अग्रता दिएकी थिइन् । करुणा राईले गोल गरेपछि आयोजक ४ गोलअन्तरले सेमिफाइनलमा प्रवेश गरेको हो । 
खेलको म्यान आफ दि म्याच नयन राई घोषित भइन् । उनलाई प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामाले नगद एक हजार र टफी वितरण गरेका थिए । भोलिको खेल रोड गाउँपालिका र रथखोला क्बल भारतबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । मेचीनगर १२ स्थित कालिका खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको विजेता टीमले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन् भने उपविजेता टीमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने आयोजक समितिका सचिव भीम कार्कीले बताए ।
जेठ ३ गते समापन हुने प्रतियोगितालाई अस्ट्रेलियास्थित दावा एण्ड लामा परिवारले मुख्य प्रायोजन गरेको छ भने हङकङका मोहन इजाम सह–प्रायोजकका रूपमा रहेका छन् । जया ब्रान्ड किट पार्टनर र ‘गेम अफ नेपाल’ मिडिया पार्टनर रहेका छन् । महिला फुटबलको विकास तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको हो । 
दीपक लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन खेलमा प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामाले खेलाडीलाई फुटबल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । कार्यक्रममा मेचीनगर वडा नम्बर १२ का अध्यक्ष मधुसुन निरौला, ११ का अध्यक्ष रुद्रप्रसाद डाँगी, १४ का अध्यक्ष बाबुलाल सुब्बा, १३ का अध्यक्ष कृष्णराज सिग्देल, १० का अध्यक्ष नारायण खनाल, ९ का अध्यक्ष कन्चन तामाड, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समिट श्रेष्ठले गरेका थिए ।