झापा । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३-० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो । दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेका थिए । आर्मीले अर्को गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भएको थियो ।

आर्मीले अर्को गोल फ्रिकिकमार्फत गर्न सफल भयो । जर्जप्रिन्स कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाएका थिए ।