विर्तामोड ।  झापामा गुरुङ समुदायले तमु ल्होसार पर्व–२०८२ भव्यताका साथ मनाउने भएका छन् । गुरुङ समुदायको महान् वर्पको रुपमा  मनाइने उक्त पर्व तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले भव्यताका साथ मनाउने भएको हो ।  परिषद् झापाले पुस १२ गतेदेखि १५ गतेसम्म तमु ल्होसारमा विविध कार्यक्रमका साथ मनाइने भएको जनाएको छ । विर्तामोडस्थित तमु संग्रहालयमा परिषद्ले कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
केन्द्रीय सदस्य एवम् कोशी प्रदेश प्रमुख आनन्द गुरुङले चार दिनसम्म हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाउने तयारी गरेको जानकारी दिए । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्य रहने बताइएको छ । पर्वको अवसरमा पुस १२ गते बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिमतर्फको खुला मैदानमा ‘गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम’ आयोजना गर्ने तयारी गरिएको उनको भनाई थियो । परिषद्का केन्द्रीय सल्लाहकार समिति सदस्य जलकुमार गुरुङले पछिल्लो समय नेपालमा हरेक चाडपर्व हरेक जातजातिले समान रुपले मनाउन थालेको बताउँदै तमु ल्होसार पर्व पनि साझा पर्वका रूपमा मनाउने तयारी गरेको बताए । पर्वको अवसरमा आयोजना हुन लागेको ‘सांस्कृतिक तथा खेलकुद कार्यक्रम’मा सबैले सहभागिता जनाएर साझा पर्वका रूपमा मनाउन उनको भनाई थियो । कार्यक्रममा नेपाली समाजमा आपसी सद्भाव मजबुत बनाइ राख्न गुरुङ समुदायले मनाउने तमु ल्होसारले थप मद्दत पुगोस् भन्ने मूल उद्देश्य राखेको परिषद्का झापा अध्यक्ष जगतमान गुरुङले बताए ।
सांस्कृतिक तथा खेलकुद कार्यक्रममा आठ हजार भन्दा बढीको सहभागिता रहने, राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुती र छेलो हान्ने, डोरी तान्ने लगायतका खेलकुदका कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तमु ल्होसार प्रत्येक वर्ष निश्चित दिन अर्थात पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस १४ गते सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुने र पुस १५ गतेदेखि क्रमिक रुपमा विस्तारै रात छोटिने र दिन लम्बिने मान्यता छ ।  तमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो ।