मेचीनगर । ५३ औँ विश्व वातावरण दिवसको अवसरमा झापाको मेचीनगर-१४, स्थित बाल सुवोधिनी माविमा बृक्षारोपणसहित सन्देशमूलक कार्यक्रम सम्पन्न भएको छ । मेची सव डिभिजन वन कार्यालयको आयोजना तथा विद्यालयको व्यवस्थापनले बृक्षारोपण तथा  सन्देशमूलक कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुंगानाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले स्वागत गरेका थिए । कार्यक्रमकका प्रमुख  अतिथि मेचीनगर नगरपालिका-१४ का वडाध्यक्ष बाबुलाल सुब्बा, सवडिभिजन वन कार्यालयका प्रमुख सुरज निरौलालगायतले वातावरण दिवसको महत्वको बारेमा चर्चा गरेका थिए ।औपचारिक कार्यक्रमपछि विद्यार्थीहरु समेतको सहभागितामा सन्देशमूलक र्याली गरिएको थियो । र्यालीपछि विद्यालय परिसरमै बहुमूल्य एरिका पाम, कपूर, बल्की फूललगायतका बृक्षारोपण गरिएको थियो । वातावरण संरक्षण, हरियाली प्रवर्धन एवम् फोहोरमैला व्यवस्थापनमा अग्रणी रहँदै आएका कारण यस वर्षको विश्व वातावरण दिवसको शुभारम्भ बाल सुवोधिनी माविबाट गरिएको सव डिभिजन वन कार्यालय प्रमुख निरौलाले जानकारी दिए । उनले एक सातासम्म बृक्षारोपणलगायतका विविध रचनात्मक कार्यक्रम गरिने पनि जानकारी दिए । कार्यक्रमको सञ्चालन कार्यालयका कर्णबहादुर विकले गरेका थिए ।